सरकारले पक्राउ गर्दै इजाजत सम्म खारेज गर्ने भनेपछि पछि हटे वायुसेवा संचालक, उडान नियमित

सफल खबर संवाददाता

बुधबार, ०८ असार २०७९, ०८ : ०१
सरकारले पक्राउ गर्दै इजाजत सम्म खारेज गर्ने भनेपछि पछि हटे वायुसेवा संचालक, उडान नियमित

काठमाण्डौ । अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने भएका छन् । वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी हिजो आजदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति नै खारेज गर्ने बताए ।

जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहिबाट नै पहिलो उडान भर्नु पर्ने तथा नाइट स्पटका लागि त्यहि बास बस्नु पर्ने निर्णय गरेको थियो । प्राधिकरणमा गएराति बसेको बैठकमा वायुसेवा सञ्चालक संघले सबै उडान सञ्चालन गर्ने सहमती भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस