हङकङसँग नेपाल पराजित

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १८ : ५५
हङकङसँग नेपाल पराजित

काठमाडौं । एसीसी महिला ट्वान्टी २० च्याम्पियनसीपअन्तर्गत भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

यससँगै नेपालले समूह चरणको अन्तिम खेलमा पराजय भोगेको छ । अघिल्ला तीन खेलमा स्पष्ट जित निकालेको नेपाल बलियो हङकङसँग पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेल खेल्न बाँकी रहेको हङकङले ३ खेलमा ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ ।

नेपाल ४ खेलमा ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । अब नेपालले सेमिफाइनमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि १ सय ९ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन । उनले ३६ बलमा चार चौका प्रहार गरिन ।

यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट निकाले । च्याम्पियनसीपको फाइनल टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस