आन्दोलनमा उत्रिए विराटनगर विमानस्थल क्षेत्रका स्थानीय

सफल खबर संवाददाता

मंगलबार, ०७ असार २०७९, १५ : ३१
आन्दोलनमा उत्रिए विराटनगर विमानस्थल क्षेत्रका स्थानीय

 विराटनगर विमानस्थलस्थल क्षेत्रका स्थानीय जग्गा फुकुवाको माग राख्दै  आन्दोलनमा उत्रिएका छन्।विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोक्का राखेको जग्गा फुकुवाको माग राखेर आज (मङ्गलबार)देखि स्थानीयले चरणबद्ध आन्दोलन शुरु गरेका हुन्।

लामो समयदेखि जग्गा रोक्का राखेको‚ मुआब्जासमेत नदिएको र बजेटमा समेत मुआब्जा सुनिश्चितता नगरिएको भन्दै विमानस्थल पीडितहरू आन्दोलनमा उत्रिन बाध्य बनेको संघर्ष समितिका संयोजक वेदराज पौडेलले जानकारी दिए।

पौडेलका अनुसार विमानस्थल पीडित सङ्घर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो। तर अल्टिमेटमको समय सकिए पनि सरकारले आफ्ना मागमा कुनै चासो नदिएको भन्दै आन्दोलन थप सशक्त बनाएको उनको भनाइ थियो।

उनका अनुसार समितिले असार १० गते जिल्ला प्रशासन कार्यालयअगाडि जग्गा प्राप्ति ऐन, २०३४ जलाउने र ऐन परिमार्जनका लागि सरकारलाई दबाब दिने कार्यक्रम राखेको छ।

समितिले असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेको जानकारी पौडेलले दिए।

डेढ वर्षदेखि सरकारले क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि भनेर विराटनगर विमानस्थल क्षेत्र आसपासका १२६.४६ बिघा जमिन रोक्का राखेको भए पनि विमानस्थल विस्तारको विषय ओझेलमा परेको छ।

प्रतिक्रिया दिनुहोस