अन्तर्राष्ट्रिय कारण देखाएर महंगीले जनता मार्न पाइँदैन : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १४ : २१
अन्तर्राष्ट्रिय कारण देखाएर महंगीले जनता मार्न पाइँदैन : माधव नेपाल

काठमाडौँ । सत्ता गठन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता अत्यधिक महंगीको मारमा परेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पेट्रोलियम पदार्थ लगायत वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिलाई लिएर उनले असन्तुष्टि जाहेर गरेका हुन् । युक्रेनको युद्ध वा अन्य अन्तर्राष्ट्रिय कारण देखाएर मुलुकमा जनताको जीनस्तर मर्कामा पर्नेगरी मूल्यवृद्धि गर्न नहुने उनको भनाइ छ ।

आज नयाँ बानेश्वरमा पत्रकारहरुसँग विशेष कुराकानी गर्दै नेता नेपालले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिले जनतालाई कस्तो असर गर्छ भन्नेबारे सरकार गम्भीर नभएको बताए । उनले आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दा पनि आफूले मूल्य वृद्धिबारे कुरा उठाएको जानकारी दिए ।

‘तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आएपछि पेट्रोल–डिजेलको मूल्य बढाउँदा त्यसले जनतालाई पर्ने मारबारे राज्यले के गर्न सक्छ, कतिसम्म व्यहोर्न सक्छ भनेर हामीले कुरा उठाएको हो,’ उनले भने, ‘जनता मूल्यवृद्धिको मारमा छन् । अन्तर्राष्ट्रिय समस्या भए पनि, युक्रेनको युद्धले समस्या भए पनि गैरजिम्मेवार ढंगले मूल्य बढाउँदै जानु राम्रो होइन ।’

सरकारले जनताको पीरमर्का सम्बोधन गर्न नसकेको उनको भनाइ थियो । छिमेकी देशहरुमा तेलको भाउ के छ र हाम्रो देशमा के छ ? अन्य सामानको भाए के कस्तो छ, यसबारे सरकारले अध्ययन गरेर जनतालाई राहत दिलाउनुपर्ने उनको सुझाव थियो ।