भरतपुर महानगरमा चिनियाँ लगानी भित्र्याउने तयारी

मंगलबार, १५ जेठ २०७५, १७ : ४५
भरतपुर महानगरमा चिनियाँ लगानी भित्र्याउने तयारी

चितवन । भरतपुर महानगरपालिकाभित्र उर्जा, कृषि, व्यापार र पर्यटन क्षेत्रमा चिनियाँ लगानी भित्र्याउने तयारी भइरहेको छ । चिनियाँ लगानी चितवनमा भित्र्याउन मंगलबार भरतपुर महानगरपालिकाको सभा हलमा चिनियाँ पक्ष र नेपाली पक्षबीच बृहत् छलफल गरिएको छ ।
भरतपुर महानगरपालिकाले नेपालमा उर्जा, कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना र अवसर विषयक छलफल कार्यक्रम आयोजना गरेको हो । छलफलपछि भरतपुर महानगर र चीनको सान्दोङमा रहेको जेङ्शी ग्रुपबीच लगानीको सम्भावना अध्ययन, परियोजना छनौट, जेङ्शी ग्रुपबाट लगानी एवं भरतपुर महानगरबाट कानुनी सहायता सम्बन्धी पाँचबुँदे सहमति भएको छ । सहमतिपत्रमा भरतपुर महानगरपालिकाको तर्फबाट महानगर प्रमुख रेनु दाहाल र जेङ्शी ग्रुपको तर्फबाट गे सियाङले हस्ताक्षर गर्नु भएको छ ।


महानगर प्रमुख दाहालले चीनले गरेको पूर्वाधार विकास लोभलाग्दो रहेको बताउँदै भरतपुर महानगरमा पनि त्यस्तै विकास गर्न चाहेको बताउनु भयो । उहाँले भरतपुर महानगरभित्र उर्जा, कृषि र पर्यटनको विकासका प्रचुर सम्भावना रहेको बताउनु भयो । विकासको पहिलो आधार सडक पूर्वाधार भएकोले सडकको बिस्तार र स्तरोन्नतिमा महानगरले जोड दिने उहाँको भनाइ थियो । सौर्य उर्जाबाट एक सय मेघावाट विद्युत उत्पादनका लागि वातावरण बनाउने दिशामा महानगर अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
पूर्वमन्त्री केशवलाल श्रेष्ठ प्रमुख अतिथि रहनु भएको छलफल कार्यक्रममा प्रदेश नम्बर तीनका कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, चाङ्सी लि योङ कम्पनीका कस योङ, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, जिविस चितवनका पूर्वसभापति विष्णु घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य डा. तिलचन्द्र भट्टराई, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस