मापदण्डभन्दा तीन गुणा बढी विषादी प्रयोग भएका तरकारी तथा फलफूल बजारमा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १२ : ०४
मापदण्डभन्दा तीन गुणा बढी विषादी प्रयोग भएका तरकारी तथा फलफूल बजारमा

काठमाडौं । गत जेठ १८ गते सर्लाहीबाट आएको बोडीमा विषादीको अवशेष (रुकावट प्रतिशत) मापदण्डभन्दा ६४ प्रतिशत बढी देखियो । त्यसको भोलिपल्ट जेठ १९ गते भक्तपुरमै उत्पादित रायोको सागमा यो मात्रा ९७.१४ प्रतिशत देखियो । पछिल्लोपटक जेठ २४ गते हेटौंडामा उत्पादित काउलीमा सो मात्रा ९१.९१ प्रतिशत पाइएको थियो ।

कृषि मन्त्रालयअन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको परीक्षणमा विषादी प्रयोगको यस्तो अवस्था देखिएको हो । तरकारीमा देखिएको यो मात्रा सरकारले तोकेको मापदण्डभन्दा झन्डै तीन गुणाले बढी हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको अवशेष, जसलाई रुकावट प्रतिशतमा मापन गरिन्छ ३५ प्रतिशतभन्दा कम रहेको तरकारी तथा फलफूल उपभोग योग्य हुने मापदण्ड तोकेको छ । त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केहीदिन राख्ने र पर्खनेगरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टिनमा राख्ने गरेको छ । तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई विसर्जन नै गर्नुपर्ने मापदण्ड छ ।

केन्द्रीय कृषि प्रयोगशालाको तथ्यांकअनुसार कालीमाटी प्रयोगशालामा मात्रै ०७८ साउनदेखि ०७९ जेठसम्म तरकारी तथा फलफूलका २ हजार ५८० वटा नमुनामा विषादीको अवशेष परीक्षण गरिएको थियो । तीमध्ये ४६ वटा नमुनामा रुकावट प्रतिशत ४५ भन्दा माथि देखिएपछि नष्ट गरिएको थियो । अन्य २९ वटा नमुना क्वारेन्टिनमा राख्नुपर्ने अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस