एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख !

पत्रपत्रिकाबाट

मंगलबार, ३१ जेठ २०७९, ०७ : २६
एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख !

काठमाडौं । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन्। स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए।

‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि कुराकानी हुनु स्वाभाविक हो। त्यत्रो अवसर हुँदाहुँदै कहाँ चुक्यौं भन्ने विषयमा सामान्य छलफल भयो। कमजोरीमा भूमिका आ–आफ्नै किसिमका होलान् तर कमजोरी भएकै हो भन्ने कुरा भयो,’ श्रेष्ठले भने।

आइतबार साँझ एमाले अध्यक्ष ओलीसँग माओवादीका नेता श्रेष्ठले करिब दुई घन्टा छलफल गरेका थिए। उनीहरूबीच नेपालमा विदेशी चलखेल बढेको, नेपालको राष्ट्रियता खतरामा परेको विषयमा समेत छलफल भएको थियो। ‘देश संकटमा पर्‍यो, नेपालको राष्ट्रियता खतरामा पर्‍यो, परराष्ट्र नीति कमजोर भयो भन्ने विषयमा छलफल भयो,’ नेता श्रेष्ठले भने। उनका अनुसार दुवै दलका साझा सरोकारका विषयमा पनि छलफल चलेको थियो। उनीहरूबीच प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे पनि कुराकानी भएको थियो।

साथै आगामी संघीय संसद्को निर्वाचनमा वामपन्थी दलहरूबीच गठबन्धन गरेर जान सकिने सम्भावनाबारे पनि छलफल भएको थियो। वाम गठबन्धनको पक्षधर रहेका श्रेष्ठले एमाले अध्यक्षसँग भेटघाट गर्नुलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा चर्चा गर्नु मात्र नभएर वाम आन्दोलनलाई एकताबद्ध बनाउने सवाल पनि रहेको आकलन गरिएको छ।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए। स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि अहिले सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी दुई दलबीच विश्वासको अभाव भने खड्किएको छ। तथापि श्रेष्ठलगायत नेताहरूले विश्वासको वातावरण बनाउने र चुनावी गठबन्धन गरेर जान सक्ने विषयमा बहस र छलफल अघि सारेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस