मुगुमा पुग्यो अपूरा पाठ्यपुस्तक

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १४ : ०२
मुगुमा पुग्यो अपूरा पाठ्यपुस्तक

मुगु । हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब एक महिनापछि अपूरा किताब पुराएकाे हाे । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएकाे छैन । 

शैक्षिक सत्र सुरु भएकाे एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेकाे जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएकाे हाे ।  

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेकाे जनाएकाे छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएकाे छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।   

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आईपुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियाे । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेकाे उनकाे भनाइ छ ।