बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, १९ : २२
बञ्चरेडाँडामा फोहर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं । स्थानीय सहमतिबेगर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत समूहबीच शुक्रबार वार्ता हुने भएको छ ।

वार्तामा सरकार तर्फबाट शहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुनुहुनेछ ।

शहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो । सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन ।

आफूलाई सोध्दै नसोधी गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका थिए । यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बनेको थियो । सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो ।

बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए । तनाव चर्किँदै गएपछि शहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर बिहीबार वार्ता गर्न लागेको हो । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस