डलरको स्रोत नखुलाएका अर्थमन्त्रीको सम्पत्ति विवरण हावादारी

आइतबार, १३ जेठ २०७५, १२ : ४३
डलरको स्रोत नखुलाएका अर्थमन्त्रीको सम्पत्ति विवरण हावादारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच दिनअघि सार्वजनिक गरेको सम्पत्ति विवरण हावादारी र तथ्यभन्दा बाहिरको रहेको पाइएको छ । उनीसँग  ६२ हजार ७ सय ३ अमेरिकी डलरसहित विभिन्न ठाउँमा जग्गा, जमिन रहेको छ । यति धेरै अमेरिकी डलर कुन स्रोतबाट आएको हो ? कसरी कमाइएको हो ? भन्ने स्पष्ट नखुलेकोले अर्थमन्त्री खतिवडाको सम्पत्ति विवरण हावादारी देखिएको हो ।
वैधानिक नै भएपनि मोटो डलर कुन स्रोतबाट आएको हो भन्ने बारेमा कानुन अनुसार केन्द्रीय बैंकलाई जानकारी दिनुपर्ने प्रावधान छ । तर खतिवडाले ती विषयमा कुनै जानकारी दिएका छैनन् । निजी जग्गा र घर तथा सम्पत्ति राख्नुहुन्न, त्यो अनुत्पादक हो भनेर भाषण गर्ने उनकै बढी मात्रामा घर, जग्गा, डलर तथा अन्य सम्पत्ति रहेको छ । यसबाट उनको कथनी र करनीमा फरक देखिएको छ । आकाश जमिनको अन्तर रहेको उनको अस्वाभाविक सम्पत्ति देखेर समाजवादको यात्रामा लागेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जिब्रो टोकेका छन् ।
घर जग्गालाई अनुत्पादक भन्ने अर्थमन्त्री खतिवडाको भक्तपुर चाँगुनारायणमा १२ आना ४५ लाख रुपैयाँमा संयुक्त राष्ट्र संघको तलवबाट जग्गा किनेको जनाएका छन् । यसैगरी संयुक्त राष्ट्र संघको आयबाटै श्रीमती कमलाको नाममा चाँगुनारायणमा १२ आना ४५ लाखमा रुपैयाँमा जग्गा किनेको पनि अर्को विवरणमा उल्लेख छ । अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको आम्दानीबाट जग्गाजमिन जोडेको जनाएका छन् ।

अर्थमन्त्री खतिवडासँग सुन १० तोला  र एक किलो चाँदीका गहना छन् । ९० लाख रुपैयाँ हाराहारी नगद बैंकमा छ भने दुई सहकारीको शेयर किनेका छन् । ५ लाख ५ हजार रुपैयाँको शेयर किनेको विवरणमा उल्लेख छ । यसैगरी २४ लाख रुपैयाँ विभिन्न ब्यक्तिलाई ऋण दिएका छन् । घर जग्गालाई अनुत्पादक भन्ने अर्थमन्त्रीले कसरी जोडे यत्रो जग्गा ? उनले आफै बढीभन्दा बढी जग्गा जोड्ने तर अरुलाई भने अनुत्पादक भनेर अर्ती दिने काम गरेकोले उनीमाथि नैतिकताको प्रश्न खडा भएको छ ।

डा. खतिवडाले काठमाडौं ४ मा ५ आनामा आफैले घर बनाएको विवरण सार्वजनिक गरेका छन् । यो घरजग्गा राष्ट्र बैंकको सेवामा हुँदा त्यहाँबाट सापटी लिएर किनेको उल्लेख गरेका छन् । उनकी श्रीमती कमला खतिवडाको नाममा काठमाडौं ४ मा १४ आना जग्गा पनि छ । त्यहाँ पनि उनको घर छ । यो घरजग्गा राष्ट्र संघको सेवामा काम गर्दा भएको आयबाट किनेको विवरणमा उल्लेख गरिएको छ । अदृश्य रुपमा अन्यत्र लगानी गरेको रकम भने सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।
श्रीमती कमलाको झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा छ । यसको खरीद मूल्य रु २६ लाख रुपैयाँ रहेको देखाइएको छ । यसैगरी श्रीमती कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको छ । यो जग्गा निजी बचतबाट किनिएको उल्लेख छ । अर्थमन्त्रीको झापाको बुद्ध शान्तिमा १० कठ्ठा जग्गा ५ लाख रुपैयाँमा निजी बचतमा किनेको उल्लेख गरेका छन् । यसैगरी श्रीमती कमलासँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा चार रोपनी १ आना २ पैसा जग्गा किनेको पनि उल्लेख छ । राष्ट्र संघमा कन्सल्टेन्सी गरेको आयबाट २४ लाख रुपैयाँमा जग्गा किनेको विवरणमा उल्लेख छ ।
त्यतिमात्रै होइन अर्थमन्त्री डा. खतिवडाको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत शेयर रहेको छ । शेयर बजार घटाउन मनलाग्दी अभिव्यक्ति दिने खतिवडा आफै भने संस्थागत रुपमा शेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । अर्थमन्त्रीका रुपमा उनी सिंहदरबार छिरेपछि साना शेयर लगानीकर्ता जीवन मरणको दोसाँधमा पुगेका छन् । सानो लगानीबाट नाफा कमाउने आशमा रहेका लगानीकर्तालाई घर न घाटको बनाएर आफू भने शेयरमा लगानी गर्ने उनको दोगला चरित्रले स्वयम् उनैलाई फाइदा नगर्ने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस