पत्रकारमाथि यौन दुर्व्यवहार भएको खुलासा, चलचित्र पत्रकार संघमा हंगामा

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १९ : ५३
पत्रकारमाथि यौन दुर्व्यवहार भएको खुलासा, चलचित्र पत्रकार संघमा हंगामा

काठमाडौं । चलचित्र पत्रकार संघले दिने पुरस्कार नलिने एक पत्रकारले घोषणा गरेकी छन् । पत्रकार रीना मोक्तानले यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने सार्वजनिक घोषणा गरेकी हुन् । 

उनले पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ । महिलालाई आफू यौन हिंसा पीडित हो भनेर परिचय दिन पक्कै सहज छैन । तर आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्ट्याटस लेखेको हुँ’, उनले ट्वीटरमार्फत भनेकी छन्, ‘यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाई जस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ । विशेष गरी चलचित्र क्षेत्रमा र यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ ।’

उनको खुलासा तथा घोषणापछि चलचित्र पत्रकार संघले एक विज्ञप्तिमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष दिनेश सिटौलाले जारी गरेको विज्ञप्तिमा  मोक्तानले लगाएको आरोपबारे सत्यतथ्य छानबिन गर्नको लागि संघ तयार रहेको उल्लेख गरिएको छ। त्यसको लागि कार्यसमिति सदस्य सुरक्षा भट्टराईको संयोजकत्वमा सदस्यहरु श्रृष्टि पोखरेल, गोपीकृष्ण चापागाईं, अन्जान दाहाल र आशिष ओली रहने गरि पाँच सदस्यीय छानबिन समिति गठन गरेको गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस