आफ्ना याेजना नीति तथा कार्यक्रममा समेट्न लुम्बिनीका सांसदकाे माग

सफल खबर संवाददाता

सोमबार, २३ जेठ २०७९, १४ : ५४
आफ्ना याेजना नीति तथा कार्यक्रममा समेट्न लुम्बिनीका सांसदकाे माग

बुटवल । लुम्बिनी प्रदेशका सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफ्ना योजनाहरू समेट्न माग गरेका छन् ।सोमबार रिपोटर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा प्रदेश योाजना आयोगसमक्ष प्रदेशसभा सदस्यहरूले आफ्ना योजना समेटिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा प्रदेश सांसद कमल प्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पुँजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनु पर्ने बताए । लोकप्रिय बजेट नल्याइ कार्यान्वयन र खर्च गर्नसकिने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धिमूलक बजेट बनाउनुपर्ने बताए। उत्पादन बढाउँदै आयत प्रतिस्थापनमा जोड दिनेगर बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताए । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर ३७ अर्बसम्मको बनाइने बताए ।

नयाँ प्रणाली सुरु गरिएकाले अब निवेदन वा सांसद र नेताहरूको भनाइको भरमा बजेट नपाइने उपाध्यक्ष क्षेत्रीले बताए । मापदण्ड पूरा नगरी बजेट माग गरिए नयाँ प्रणालीको सफ्टवेयरमा इन्ट्री नै नहुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले परम्परावादी र पुरानो शैलीको बजेट नल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । समयमा बजेट खर्च नहुँदा विकासका काम नहुने र बजेट हिनामिना हुने गरेकोप्रति सचेत बन्न उनीहरूको सुझाव छ ।