प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, २० : २३
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार जानुभएको थियो । भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै, सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसदमा विचाराधीन नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले दलहरूबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनमा नागरिकता ऐन प्रस्तुत गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभामा पेस गरेको प्रतिवेदनमा सहमति जुटाएर संसदमा पेस गर्न विभिन्न राजनीतिक पार्टीसँग छलफल गर्ने निर्णय भएको छ ।

नागरिकता ऐनमा वैवाहिक अंगीकृत, अंगीकृत, जन्मसिद्ध नागरिकका सन्तानलाई दिने नागरिकता, गैरआवासीय नागरिकलाई दिने नागरिकता, आमाको नामबाट नागरिकतालगायतमा सहमति जुट्न सकिरहेको छैन । सरकारले प्रतिनिधिसभाको यही अधिवेशनमा नागरिकता ऐन पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस