माग सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशमा गठबन्धन गरेर जाने लोसपाको निष्कर्ष

सफल खबर संवाददाता

आइतबार, २२ जेठ २०७९, २० : २०
माग सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशमा गठबन्धन गरेर जाने लोसपाको निष्कर्ष

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ ।

आइतबार सम्पन्न पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले जानकारी दिए ।

त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ ।नेता झाले भने, ‘चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिवद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ । अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरिएको छ ।’

शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गरेका थिए। सो भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिनु भएको नेता झाले बताए ।

बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष समेत निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस