काठमाडौं विश्वविद्यालयले डिग्रीका विषयहरु भारतीय शैक्षिक संस्थासँग मिलेर स्वदेशमै अध्यापन गराउने

सफल खबर संवाददाता

शनिबार, २१ जेठ २०७९, ०८ : ४१
काठमाडौं विश्वविद्यालयले डिग्रीका विषयहरु भारतीय शैक्षिक संस्थासँग मिलेर स्वदेशमै अध्यापन गराउने

काठमाडौं । नेपाली विद्यार्थीहरु थप अध्ययनका लागि विदेशिने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । शिक्षासंगै आम्दानीको श्रोत पनि विदेशमा राम्रै जुट्ने भएकाले उनीहरु त्यतातर्फ पलायन हुन थालेका छन् । तर नेपालमा पनि केही विश्वविद्यालयहरु भारत देखि विदेश सम्मका शैक्षिक संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरुको अध्यापन गराउदैं आएको छ । यसै क्रममा काठमाडौं विश्वविद्यालयले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले हैदराबाद स्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको हो । यस सम्बन्धमा केयू र आइआइटिएच, आइआइआइटिएचबीच समझदारी र सम्झौताहरु भएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए ।

सम्झौता अन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरुमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदानप्रदान हुनेछ । इन्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चालन हुने बताइएको छ । यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले बताए ।

स्वास्थ्य विज्ञानतर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) को हेल्थकेयर टेक्नोलोजी इन्नोभेसन सेन्टर (एचटिआइसी) मा हुने बताइएको छ । थापाको अनुसार  एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँ नयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउनेछ भने इन्कुबेशन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्नेछ ।

‘एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालन गर्नेछ, स्नातकोत्तर कार्यक्रम र पिएचडी शोध चारपक्षीय संकायबाट सञ्चालन हुनेछ, विद्यार्थीले सुरुका ६ महिना कलेज अफ मेडिकल साइन्समा अध्ययनको काम गरेपछि उपयुक्तता अनुसार ६ महिनाका लागि आइआइआइटिएच वा आइआइटिएच पठाइनेछ, त्यसपछि आवश्यकता अनुसार विद्यार्थीलाई ३ देखि ६ महिना एसओई पठाइनेछ र बाँकी अवधि उनीहरुले कलेज अफ मेडिकल साइन्स फर्केर आफ्नो अध्ययन अनुसन्धान पूरा गर्नेछन्,’ उनले भने ।
सम्झौता अनुसार त्यस्ता विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा चारवटै संस्थाको दस्तखत र छाप हुनेछ ।

प्रतिक्रिया दिनुहोस