माओवादी केन्द्रीय समितिको बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २० जेठ २०७९, १३ : ३६
माओवादी केन्द्रीय समितिको बैठक स्थगित

 काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’

स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । ढकालका अनुसार सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए।

‘सदनमा ह्वीप जारी भएको छ । मन्त्रीहरु, केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुपर्‍यो,’ उनले भने । स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।

तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस