जनताले वाम गठबन्धनलाई चुनौती सहितको अभिभार दिए : अध्यक्ष दाहाल

सोमबार, २५ मंसिर २०७४, ११ : ५०
जनताले वाम गठबन्धनलाई चुनौती सहितको अभिभार दिए :  अध्यक्ष दाहाल

 

चितवन  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनताले वाम गठकन्धनलाई चुनौतीसहितको अभिभार दिएको बताउनु भएको छ । आज बिहान यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभार पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच बर्षमा धेरै काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले अब देश समृद्धितर्फ अघि बढेको बताउनु भयो । वाम सरकारले पाँच बर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीहरुले शासन चलाउने बताउँदै अध्यक्ष दाहालले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताउनु भयो ।

उहाँले सरकार गठन अघिनै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पहल हुने पनि बताउनु भयो । आफु काठमाडौ फर्किए लगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङ्गाउने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “पार्टी एकताका बिषयमा कुनै आशंका नराख्नुस्, यो आशंका ईतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुङ्गो लाग्ने उहाँको भनाई थियो ।

ठूलो पार्टीको हिसाबले केपी ओलीको दावी हुनु स्वभाविक रहेको बताउँदै उहाँले पार्टीका शीर्ष नेताहरु हार्नुका कारण खोजिने र मिलाएर लैजाने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस