३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १७ : ३०
३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी

काठमाडौं । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

विद्यालय तहको कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो ।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी छ ।

चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै छापिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । केन्द्रले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाई भइरहेको जनाएको छ ।

अबको एक महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुग्ने निर्देशक झाले बताए । बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको भन्दै केन्द्रले काठमाडौँ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा दिएको जनाएको छ ।

कागजको नियमित आपूर्ती नहुँदा र स्थानीय तह निर्वाचनको मतपत्र छाप्नु पर्दा पुस्तक तयार पार्न ढिला भएको केन्द्रको जिकिर छ । केन्द्रले पुस्तक छपाईमा ढिलाई गरेपछि संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिलेसमेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो ।

समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पु¥याउन निर्देशन दिएको थियो ।