काठमाडौंका मेयर शाहद्वारा पदभार ग्रहण,नगरसभाको बैठक लाइभ गर्ने पहिलाे निर्णय

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १३ : ३७
काठमाडौंका मेयर शाहद्वारा पदभार ग्रहण,नगरसभाको बैठक लाइभ गर्ने पहिलाे निर्णय

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। सपथ लिएपछि बागदरबारस्थित जेडिए कम्पलेक्सस्थित महानगर कार्यालयमा पुगेर मेयर बालेनले पदभार ग्रहण गरेका हुन्।

साथै मेयर शाहले नगरसभाको बैठक लाइभ गर्ने पहिलाे निर्णय गरेका छन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । उनले आफूहरुको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको पनि बताए । सिसडोल र बन्चरेडाँडामा फोहोर बिसर्जनको दीर्घकालीन उपाय निकाले पछि अन्य विषयमा पनि चर्चा गर्ने उनले बताए । 

‘हामीले गरेको पापको भोगी सिसडोलवासीहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा उहाँहरु क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’ उनले भने, ‘अब फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’ 

प्रतिक्रिया दिनुहोस