दक्षिण एसियामा गर्मी झनै बढ्ने संकेत

पत्रपत्रिकाबाट

विहीबार, १२ जेठ २०७९, ०७ : २१
दक्षिण एसियामा गर्मी झनै बढ्ने संकेत

एजेन्सी । भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताएका छन्।

दुई दिनअघि सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले मानवजन्य कारणले भएको तापमान वृद्धि र जलवायु परिवर्तनले तातो हावा चल्ने सम्भावनालाई ३० प्रतिशतले बढाएको देखाएको छ।

‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ ले गरेको मौसमी तथ्यांकअनुसार ठुलो भौगोलिक क्षेत्रमा यसअघि उखरमाउलो स्तरमा तातो हावा शताब्दीको एकपटक आउने गरेको थियो भने अब यो उपक्रममा तीव्रता आउने देखिएको छ। ‘औेद्योगिक क्रान्ति हुनुअघिको तुलनामा विश्व तापमान २ डिग्री सेन्टिग्रेड बढेको थियो। यसप्रकारको तातोहावाको लहर शताब्दीमा दुईदेखि हरेक पाँच वर्षमा एकपटक आउन सक्ने देखिएको छ,’ अध्ययनमा सहभागी मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका जलवायु वैज्ञानिक अर्पिता मण्डल भन्छिन्, ‘यो भविष्यमा हुन सक्ने थप गर्मीको  पूर्वसंकेत हो।’  

तर यो अध्ययनले देखाएको नतिजा हालै बेलायतको मौसम विभागले गरेको अध्ययनभन्दा कम चिन्ताजनक छ। बेलायतको मौसम विभागको अध्ययनले जलवायुजन्य कारणले तातो हावाको लहर आउने सम्भावना सय गुणाले बढेको र यो हरेक तीन वर्षमा आउन सक्ने देखाएको थियो।

‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ ले गरेको समीक्षाले जलवायु परिवर्तनले तातो हावाको लहर आउने अवधि र भौगोलिक क्षेत्रलाई बढी जोड दिएको छ। ‘जलवायु परिवर्तनले वास्तवमै कति प्रभाव पारेको छ भन्नेमा हाम्रो र बेलायती अध्ययन दुवैले गरेको आकलनबीचको नतिजा सही हुन सक्छ,’ अध्ययनमा सहभागी इम्पेरियल कलेज अफ लन्डनका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने। नागरिक दैनिकमा खबर छ ।