मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गरिने

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १६ : ४२
मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गरिने

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी हुन्।

उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणका लागि निकायगत समन्वय गरिनेछ, काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन शुरु गरिनेछ।’

आयोजना शुरु भएको दुई दशकपछि गत चैत १५ मा काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।

तर गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। क्षति मर्मतपछि मेलम्ची पानी पुन: उपत्यकामा ल्याइएको छ। तर पानी अस्थायी रुपमा मात्रै ल्याइएको छ। वर्षात् शुरु भएपछि उपत्यकामा पानी आउने छैन।

प्रतिक्रिया दिनुहोस