शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको अल्टिमेटम

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १२ : ३८
शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको अल्टिमेटम

नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् ।

सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाईमा असर परेको भन्दै मेयर थारुले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका हुन् । ‘शिक्षण पेशामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारुले भने, ‘शिक्षण पेशा या सक्रिय राजनीतिमध्ये एउटा रोज्न भनेको छु ।’

मेयर थारुले कुन शिक्षक कुन राजनीतिक दलको कुन पदमा छ भन्ने तथ्यांक निकालेर बसेको जानकारी दिए। ‘मैले तथ्यांक निकालेर बसेको छु । सात दिनभित्र उहाँहरुले दलको क्षेत्र, नगर, जिल्ला, प्रदेश, केन्द्रमा बसेको पदबाट राजीनामा दिएको पत्र देखाउनु भएन भने कारबाहीका लागि सिफारिस गर्छु’, मेयर थारुले भने, ‘कुन शिक्षक कुन पार्टीको कुन तहमा बसेको छ भन्ने मलाई थाहा छ ।’

मेयर थारुले आफ्ना हकहितका लागि शिक्षकसँग सम्बन्धित संघ, संगठन, युनियनहरुमा बस्न मिल्ने बताए। ‘शिक्षक भन्ने अनि पार्टीको क्षेत्र, नगर, जिल्ला, प्रदेश कमिटिमा बस्ने ? यस्तो हुँदैन, मेयर थारुले भने, सक्रिय राजनीति त्याग्नु पर्छ । आफ्ना हक अधिकारका लागि शिक्षक संगठनहरुमा बस्न पाइन्छ ।’कांग्रेसलाई उम्मेदवारलाई ४७ मत अन्तरले पराजित गरेर थारु मेयर भएका हुन् । यसअघि उनी लुम्बिनी प्रदेशसभा सांसद थिए । उनले मा‌ओवादीकाे तर्फबाट प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका थिए। उनले थोरै मत अन्तरले नगरपालिका मेयर जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस