पर्यटनमा छैन ठूलो घोषणाको तयारी

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, ११ : ५४
पर्यटनमा छैन ठूलो घोषणाको तयारी

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी आगामी आगामी आर्थिक वर्षमा समेत कुनै ठूलो (प्रभावकारी) घोषणा नहुने भएको छ ।

खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डबीचको समन्वयको अभावमा आगामी आवमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रभाव पार्ने ठूलो घोषणा हुने सम्भावना छैन ।यसअघि नेपाल राष्ट्र बैंकले नेपाल सरकारलाई विदेशी मुद्राको सञ्चिति बढाउने उपाय स्वरुप पर्यटक आगमन बढ्नु पर्ने र त्यसका लागि सन् २०२० मा स्थगित भएको भ्रमण वर्षजस्तै ठूलो अभियान घोषणा गर्न सुझाव दिएको थियो ।

मंगलबार जारी सरकारको नीति तथा कार्यक्रमले समेत पर्यटनमा प्रभावकारी कार्यक्रमको छनक दिन सकेको छैन । पर्यटन मन्त्रालयमा बोर्डकै समानान्तर रहने गरी सरकारले गठन गरेको पुनरुद्धार समितिले काम गरिरहेको छ ।

सो समितिका संयोजक राजाराम गिरिका अनुसार आगामी आवमा अन्तर्राष्ट्रिय स्तरका कम्तिमा तीन वटा इभेन्ट नेपालमा आयोजना गर्ने तयारी छ । जसमध्ये एउटा काठमाडौंमा, एउटा पोखरामा र एउटा लुम्बिनीमा आयोजना हुने भएको छ ।

पोखरामा शाहसीय पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजनाको तयारी छ । लुम्बिनीमा बौद्धमार्गी मुलुकका पर्यटनमन्त्री समेतलाई बोलाएर विशेष कार्यक्रम आयोजना गरिने छ । काठमाडौंमा भने नेपाल भ्रमणका लागि खुला छ भन्ने सन्देश दिन अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिने उनले बताए ।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने छ । वराह क्षेत्र, चतराधाम र रामधुनी क्षेत्र तथा कोशी टप्पु वन्यजन्तु आरक्ष समेटेर वृहत धार्मिक-सांस्कृतिक-पर्यापर्यटन केन्द्रका रुपमा विकास गर्न एकीकृत कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बनेका हवाई पूर्वाधार पूर्ण सञ्चालनमा

सरकारले आगामी आवमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रिय विमानस्थललाई पूर्ण संचालनमा ल्याउने बताएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल यसमा पर्छन् । सरकारले आगामी आवमा सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थलको निर्माण थाल्ने बताएको छ ।

आन्तरिक विमानस्थलहरुमा सुविधाजनक टर्मिनल निर्माणको थालने समेत आगामी आवमा हुने भएको छ । निगजढ विमानस्थलमा समेत आगामी आवमा ठूलो प्रगति हुने छैन । यो विमानस्थलको निर्माण आव २०८०/८१ बाट मात्र थाल्ने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस