सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार

विहीबार, १० जेठ २०७५, १२ : ३३
सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार

काठमाडौं । टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको छ । कम्पनीले लामिछानेसँग आफ्नो प्रोडक्टहरुको प्रर्वद्वन गर्नको लागि भन्दै तीन वर्षको सम्झौता गर्दै २५ लाख मूल्यको कार उपहार दिएको हो ।

बुधबार राजधानीको होटल सोल्टीमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहालले सिप्रदी ट्रेडिङ नेपाली क्रिकेटमा जहिले पनि कटिबद्व रहेको भन्दै सन्दिपलाई कारको चाबी हस्तान्तरण गरे । साथमा दाहालसँगै सन्दिपलाई कारको चाबी सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्देशक दाहालले कलिलो उमेरमै आइपिएलसँग सम्झौता गर्न सफल र किक्रेटको घर लर्डसमा खेल्ने पहिलो किक्रेट खेलाडी रहेका भन्दै लामिछानेको प्रशंसा पनि गरेका थिए ।

कम्पनीले कार्यक्रममा यसअघि सिएसआर विङ सिप्रदियन सहायता संस्थामार्फत नेपाली किक्रेट टिमका आरिफ सेख र सुनिल धमलालाई पछिल्लो डेढ वर्षदेखि सहयोग गर्दै आइरहेको जानकारी पनि दिएको थियो ।

सिप्रदी ट्रेडिङ प्रा.लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु सञ्चालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो । जुन सन् १९८२ देखि टाटा मोर्टस नेपालमा एक मात्र आधिकारी विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस