यी हुन् चार तारालाई पछार्ने चार वाम उम्मेदवार

आइतबार, २४ मंसिर २०७४, १६ : ५१
यी हुन् चार तारालाई पछार्ने चार वाम उम्मेदवार

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत चितवनमा चारताराका उम्मेदवारलाई पछार्दै चार जना वाम उम्मेदवार प्रदेश सभा सदस्य पदमा विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा क र ख एवम् निर्वाचन क्षेत्र नम्बर दुईको प्रदेश सभा क र ख गरी चारै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।


मतगणनाको अन्तिम मत परिणाम अनुसार चितवन क्षेत्र नम्बर एकको प्रदेश सभा क बाट वाम गठबन्धनका दावा दोर्जे लामाले नेपाली काँग्रेसका धनबहादुर गुरुङलाई सात हजार २९ मतान्तरले हराएका छन् । नेकपा एमालेका लामाले २३ हजार २३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी गुरुङले १५ हजार नौ सय ९४ मत पाएका छन् ।


यसैगरी, चितवन क्षेत्र नम्बर एकको प्रदेश सभा ख बाट वाम गठबन्धनका कृष्णप्रसाद खनालले नेपाली काँग्रेसका उत्तम आचार्यलाई आठ हजार सात सय २१ मतको अन्तरले हराएका छन् । नेकपा एमालेका खनालले २७ हजार दुई सय ३२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी आचार्यले १८ हजार पाँच सय ११ मत ल्याएका छन् ।


चितवन क्षेत्र नम्बर दुईको प्रदेश सभा क बाट वाम गठबन्धनका घनश्याम दाहालले नेपाली काँग्रेसका जितनारायण श्रेष्ठलाई चार हजार सात सय १८ मतान्तरले पराजय गरेका छन् । नेकपा माओवादी केन्द्रका दाहालले २० हजार तीन सय ८१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ६ सय ६३ मत पाएका छन् । दाहालबाट पराजित श्रेष्ठ नेपाली काँग्रेसका जिल्ला सभापति हुन् ।


क्षेत्र नम्बर दुईको प्रदेश सभा ख बाट वाम गठबन्धनकै विजय सुवेदीले नेपाली काँग्रेसका उम्मेदवार प्रकाश अधिकारीलाई आठ हजार नौ सय दुई मतको अन्तरले पराजित गरेका छन् । नेकपा एमालेका सुवेदीले २१ हजार पाँच सय ७२ मत ल्याउँदा काँग्रेसका अधिकारीले १२ हजार ६ सय ७० मतमात्र ल्याएका छन् । मतगणनाको अन्तिम नतिजा आउन बाँकी दुई वटा प्रदेश र तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा समेत वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस