अन्तिम मत परिणामबारे अहिले नै बोल्नु हतार हुन्छ, धेरै मत गन्न बाँकी छः सिर्जना सिंह

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १५ : १३
अन्तिम मत परिणामबारे अहिले नै बोल्नु हतार हुन्छ, धेरै मत गन्न बाँकी छः सिर्जना सिंह

काठमाडौं ।काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म प्राप्त मतलाई आफूले सहज रुपमै लिएको बताएकी छन्।

बुधबार दिउँसो मतगणनास्थल राष्ट्रिय सभागृह पुगेकी सिंहले सञ्चारकार्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै धेरै भोट गन्न बाँकी रहेको हुँदा अन्तिम मत परिणाम आफ्नो पक्षमा आउने कुरामा आशावादी रहेको बताइन्।मतगणनाको परिणामलाई कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले सहज रुपमै लिएको छु। मलाई दिने एक भोटको पनि सम्मान गर्छु। म उहाँहरुलाई धन्यवाद दिन्छु।’

अहिले करिब ६० हजार मत मात्रै गणना भएको र अझै धेरै मत गन्न बाँकी रहेको हुँदा अहिले नै मत परिणामबारे बोल्नु हतारो हुने उनको भनाइ छ।‘सबै सकिएपछि मात्रै यस विषयमा हामी बोल्छौँ। अहिले मैले त्यतापट्टी ध्यान दिएको छैन। काउन्टिङ हुँदैछ। भर्खर ६० हजारमा पुगेको छ। अझै बाँकी छ। अहिले बोल्दाखेरी अलि हतार हुन्छ,’ उनले भनिन्।

कतिपय ठाउँमा राम्रै मत पाए पनि कतिपय ठाउँमा आफूहरुले सोचेकोजस्तो मत नआएको भने उनले स्वीकार गरिन्।

उनले भनिन्, ‘मतगणना सकिएका वडामा योभन्दा राम्रो हुनुपर्ने थियो। सोचेकोभन्दा कहीँ नराम्रो पनि भएको छ। राम्रो पनि भएको छ। समग्रमा भन्दा अलि छिटो हुन्छ होला। हामीलाई पनि अचम्म लागिरहेको छ। अझै पनि आशावादी छौँ हामी।’

प्रतिक्रिया दिनुहोस