एमालेलाई साथ दिएका कमल थापालाई हेटौँडामा पूर्वपार्टीको चक्मा !

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ४४
एमालेलाई साथ दिएका कमल थापालाई हेटौँडामा पूर्वपार्टीको चक्मा !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा फागुन अन्तिम सातातिर राप्रपाबाट बाहिरिए । गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनबाट पराजित भएसँगै उनी पार्टीबाटै बाहिरिएका थिए । मूलतः निर्मल निवासले आफूलाई राप्रपाको अध्यक्षमा हराउन भूमिका खेलेको उनको आरोप थियो भने त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने उनको माग सम्बोधन नभएपछि पार्टीबाटै बाहिरिएका हुन् । 

पार्टीबाट बाहिरिएसँगै फागुन ७ गते राप्रपा नेपाल पुनर्गठन गरेका उनी नयाँ पार्टी बोकेर स्थानीय तह निर्वाचनमा होमिएपछि नतिजा निराशाजनक देखिएको छ । उसो त थापाले नेकपा एमालेसँग सूर्य चुनावमै पार्टीका उम्मेदवारले चुनाव लड्ने गरी सहमति पनि गरेका थिए । तर, त्यो सहमति सहमतिमै सीमित भयो । देशका अधिकांश स्थानमा राप्रपा नेपालले सूर्य चुनाव चिह्नबाट लड्ने अवसर समेत पाएन । 

नतिजाअनुसार गृहजिल्लामा समेत थापा कमजोर देखिएका छन् । पूर्व पार्टी राप्रपाले हेटौँडा उपमहानगरपालिकामा तहल्का मच्चाइरहँदा कमल थापाको पक्षमा उत्साहजनक मत नरहेको पार्टीकै नेताहरु बताउँछन् । हेटौँडामा सो पार्टीले एमालेलाई सघाएपनि कुनै जादु चल्न नसकेको देखिएको छ । 

 हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । पाँच दलीय गठबन्धन, एमाले–राप्रपा नेपाल र राप्रपाबीच मुख्य प्रतिस्पर्धा देखिएको हो ।  १३ हजार ४९५ मतगणना गर्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले ४१३५  मतको अग्रता बनाएकी छन् । उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३९४५ मतका साथ पछ्याइरहेका छन् ।यस्तै एमालेका  उम्मेदवार अनन्त पौडेलले ३५५२ मत ल्याएर तेस्रो स्थानमा छन् । कमल थापाको गृहनगरमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले एमालेलाई नै पछाडि पारेको हो । यसले कमल थापा गृहनगर हेटौँडामै प्रभावहीन भएको देखिएको छ नै उनले परित्याग गरेको राप्रपाले हेटौडामा चक्मा खुवाइदिएको छ । 

थापाले संवैधानिक राजसंस्थाको एजेण्डा छाडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्दै आएका छन् । कमल थापाले नयाँ पार्टी गठन गरेपछि उनको पुरानो पार्टी राप्रपालाई धक्का लाग्ने अनुमान गरिएको थियो । तर कमल थापाले पार्टी छोड्दा पनि प्रारम्भिक मतगणनामा राप्रपाको पक्षमा देशभर नै सुधारिएको नतिजा देखिएको छ ।  जसलाई हेटौँडाको मेयरमा दिपक बहादुर सिंहले पाइरहेको मतले पनि खण्डन गरेको छ ।

०७४ को चुनावमा हेटौँडामा राप्रपाका उम्मेदवार मधुकर प्रसाद अधिकारीलेजम्मा ६८५७ मत ल्याएका थिए । उपमेयरमा इन्दीरा न्यौपाने जम्मा ७७०२ मत मात्र ल्याएकी थिइन् । तर यस पटक राप्रपा अहिलेसम्म विजयको दौडमा दोस्रो छ ।

प्रतिक्रिया दिनुहोस