विशेष पर्यवेक्षकमा समेटिए पूर्वप्रधानन्यायाधीश र पूर्वप्रमुख आयुक्त, पूर्वप्रमुख आयुक्त यादवको नाम भने अस्वीकृत

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : २८
विशेष पर्यवेक्षकमा समेटिए पूर्वप्रधानन्यायाधीश र पूर्वप्रमुख आयुक्त, पूर्वप्रमुख आयुक्त यादवको नाम भने अस्वीकृत

काठमाडाैँ । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको अनुगमनका लागि विशेष पर्यवेक्षकमा पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि पूर्वन्यायाधीशसम्म नौ जनालाई अनुमति दिएको छ। निर्वाचन आयोगले यसरी पर्यवेक्षणको अनुमति दिँदा निश्चित मापदण्ड तोकेर वितरण गर्ने परम्परा रहेको छ।

आयोगले एक जना पूर्वप्रमुख आयुक्तको नाम भनेअस्वीकृत गरेको छ। यसरी अस्वीकृत हुनेमा पूर्व निर्वाचन आयुक्त आयोधीप्रसाद यादव छन् । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्यको रुपमा देखिएकाले उनको नाम अस्वीकृत गरेको आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार उनलाई विशेष पर्यवेक्षणको अनुमति दिँदा राजनीतिक पार्टीमा संलग्न भएको भनी आरोप लाग्ने भएकाले उनीबाहेक अन्य ९ जनालाई  दिएको हो।

यसरी विशेष पर्यपेक्षकको स्वीकृति पाउनेमा पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की रहेका छन्। त्यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्तहरुमा भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र पूर्वआयुक्तहरु इला शर्मा रहेका छन्। त्यस्तै, पूर्वसचिवहरुमा तीर्थमान शाक्य र उदय नेपाली रहेका छन्।

त्यस्तै, हिमालय शमशेर जवरा र मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त अनुमति पाएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले यस्तो पर्यवेक्षणको अनुमतिका लागि निश्चित मापदण्ड निर्माण गरेको र उक्त मापदण्डभित्र पर्नेहरुले पाउनुभएको बताए। स्वीकृत हुने वा नहुने कुरा त्यही मापदण्डमा रहेर सम्बन्धित शाखाबाट हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस