दीपक मनाङे मन्त्रीको कुर्सीमा, कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १३ : ११
दीपक मनाङे मन्त्रीको कुर्सीमा, कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा

काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रोपटक विराजनमान छन् ।'गुण्डागर्दी' पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । 

मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । 

सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो । त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । 

यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो ।