काठमाडौं ।स्थानीय तह निर्वाचनमा विराटनगरमा पूर्व खेलाडीसमेत चुनावी प्रतिस्पर्धामा होमिएका छन्। ५२ वर्षीय पूर्व फुटबल खेलाडी कुमार महर्जन एमालेबाट विराटनगर महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा उम्मेदवार छन्।
वडाध्यक्षको उम्मेदवारी दिएका महर्जन यतिबेला मतदातालाई रिझाउन व्यस्त छन्। महर्जन वडाध्यक्ष जितेर जनतालाई आश्वासन दिनेभन्दा पनि गर्नसक्ने कामका लागि अघि बढ्ने बताउँछन्। उनी भन्छन्, ‘जनतालाई धेरै र पुग्न नसक्ने आश्वासन दिएर भ्रममा राख्नु भन्दा पनि गर्न सकिने कुरालाई प्राथमिकतामा राखेर सेवा गर्नेछु।’
उनलाई नजिकबाट चिन्ने अर्का पूर्व राष्ट्रिय खेलाडी पारस चौधरीले महर्जन कुशल खेलाडी भएको बताए। उनले भने, ‘महर्जन र हामीसँगै उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै सन् १९८६/८८ तिर थाइल्याण्ड खेल्न गएका हौँ। उनको तीव्र गति र खेल शैलीले दर्शकको ध्यान केन्द्रित गर्थ्यो।’खेलमा मात्र नभएर महर्जन प्रहरी जीवनमा समेत अनुशासित थिए। चोटका कारण मैदानमा धेरै समय दिन नसकेपछि उनी विभिन्न सामाजिक कार्यमा व्यस्त भए। अखिल नेपाल फुटबल संघका पूर्व सहायक महासचिव एवं जिल्ला फुटबल संघ मोरङका सदस्य वसन्त अर्याल पनि महर्जनको खेलको तारिफ गर्छन्।
अर्यालले भने, ‘उनी मैदानमा सटिक पास, तिव्रता, क्षमता भएका खेलाडी हुन्। तर अब जनता माझ उनको वास्तविक परीक्षण हुनेछ। मैदानमा रुचाएका जनताले उनलाई ३० गते कत्तिको रुचाउने हुन् त्यो भने हेर्न बाँकी नै रहेको छ।’
विराटनगरको सीमावर्ती क्षेत्र मिल्स एरियामा फुटबल खेलाडी र समाजिक कार्यमा परिचित नाम भएको हुँदा एमालेले महर्जनलाई वडाध्यक्षमा उम्मेदवार बनाएको हो।महर्जनले पुलिस क्लबबाट एक सिजन शहिद स्मारक ए डिभिजनसमेत खेलेको बताएका पूर्व खेलाडी चौधरीका अनुसार महर्जनले भारतको सिलिगुडीबाट १० वर्ष लिग खेलेका थिए। २०५२ सालमा पुलिस क्लब छाडेर प्रहरी तालिम केन्द्र रानी विराटनगरमा करिब १५ वर्ष खेल विभागको प्रमुखको जिम्मेवारीमा रहेका थिए।
हाल पनि महर्जन मिल्स गोल्डकप ट्रष्ट, पूर्व सैनिक तथा प्रहरी संगठन, विराट भजन समूह, राम जानकी मन्दिर, संयुक्त टोल संगठन, साइनो स्पोर्टस क्लब, विराट फुटबल ट्रष्ट, मिल्स मावि विद्यार्थी समूहमा काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १५ : ५१
लेखकबाट थप