सरकारी गाडीमा एमालेकाे झन्डा प्रयाेग भएपछि स्थानीयले लिए नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, ११ : ५०
सरकारी गाडीमा एमालेकाे झन्डा प्रयाेग भएपछि स्थानीयले लिए नियन्त्रणमा

काठमाडौ । कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ।

चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी-१९ मा कांग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन्।

प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से १ झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका-१९ बाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन्।उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार सो विषयमा थप अनुसन्धान भइरहेको छ।

तर, एमालले भने घरमा रोकेर राखेको गाडीलाई धकेलेर सडकमा लगी विपक्षीले सरकारी गाडीमा दलको झन्डा गाडेको आरोप लगाएकाे छ।

धनगढी उपमहानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएका एमाले नेता रणबहादुर चन्दले एमालेलाई बदनाम गराउने उद्देश्यले घरमा रोकेर राखेको गाडीलाई धकेलेर बाहिर लगी झन्डा प्रयोग भएको बताए।

‘यो एमालेलाई बदनाम गराउने उद्देश्यले बुनेको योजना हो’, उनले भने, ‘यसको छानबिन हुनु पर्दछ।’उनले निर्वाचन आचारसंहिताको पालना गर्न एमालेका सबै उम्मेदवार र कार्यकर्ता कटिबद्ध रहेकाे पनि बताए।

 

प्रतिक्रिया दिनुहोस