पूँजी बजार देशमा अर्थतन्त्रको ऐन बन्न सक्नुपर्छ : मिश्र

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १७ : ०७
पूँजी बजार देशमा अर्थतन्त्रको ऐन बन्न सक्नुपर्छ : मिश्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पूँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पूँजी बजार सम्मेलनमा बोल्दै मिश्रले यस्ताे बताएका हुन्। उनले शेयर बजारमा पछिल्लो समय उतारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पूँजी लगानीको आवश्यकता रहेको बताए।

मिश्रले बजारमा 'टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी' आउनुपर्ने बताएउनले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए। उनले बजार परिपक्व नभए पूँजी बजार माथि जान नसक्ने धारणा राख्दै पछिल्लो समय ४२ खर्बको पूँजीकरण बाट ३३ खर्बको पूँजीकरणमा झर्नु राम्राे भएकाे जनाए।

​त्यस्तै कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताए।उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन गरिरहेको बताए। कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको जानकारी दिए।

बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागिरहेको उनले बताए। शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनकाे भनाइ छ। उनले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एस एम ई इन्डेक्स प्लेटफर्म निर्माण गर्ने बताए।

रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको उनले बताए। हाल संचालनमा रहेको ओटीसी प्लेटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२/५४ कम्पनी मात्रै हाल ओटीसीमा आबद्ध भएको बताउँदै ओटीसी प्लेटफर्म पनि प्रभावकारी र प्रविधिमैत्री बनाएर जाने तयारीमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस