‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १९ : ११
‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।

उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पार्नुभयो ।  

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।

“मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ”, उहाँले भन्नुभयो । 

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताउनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पूर्ण हुन नसकेको उहाँको भनाइ थियो ।