क्याम्प छाडेका १० खेलाडीले सदस्यसचिवलाई भेट्दै

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १५ : ५७
क्याम्प छाडेका १० खेलाडीले सदस्यसचिवलाई भेट्दै

काठमाडौं ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै आएका १० खेलाडीले आफूहरुलाई न्याय दिन राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन् ।

सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका खेलाडीले आज राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट्दैछन् । अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि परिणाममुखी प्रयास नगरेकोमा चिन्तित भएको भन्दै खेलाडीहरुले मातहतका उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको माग राख्दा कतार फुटबल फेडेरेसनको सहयोगमा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप खेलाडीको छ । सुरुमा रोहित चन्द र त्यसपछि ९ खेलाडीले अघिल्लो बुधबार क्याम्प छाडेका थिए । राष्ट्रिय टिमको ड्रेसिङ रुममा देखिएको विवाद समाधानका लाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि सदस्यसचिव घिसिङलाई भेटेर निवेदन दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस