एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षको प्रश्न- भागेर समस्या समाधान हुन्छ ?

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १४ : ४३
एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षको प्रश्न- भागेर समस्या समाधान हुन्छ ?

काठमाडौं ।खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० खेलाडी असन्तुष्ट छन् । उनीहरू बन्द प्रशिक्षणबाट होटलसमेत छोडेका छन् ।कुवेती नागरिक अब्दुल्लाह खेलाडी आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छोडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटेल छाड्न परेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुवैले एकअर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्रसमेत बुझाएका छन् । यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो मुद्दालाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले विवाद समाधान गर्न कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् । खेलाडीले समस्या समाधाम गर्न एन्फालाई आग्रह गरेका छन् । तर, एन्फा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा त्यसका लागि सकारात्मक भएको देखिँदैनन् । एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने र समस्या समाधाम गर्न आग्रह गरेका छन् ।

‘समस्यासँग भागेर समाधान हुन्छ र? अध्यक्ष ज्यू?,’ ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले फेसबुकमा प्रश्न गरेका छन् । यस्तै, उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् ।

‘चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो,’ उनले भनेका छन् । यसअघि १४ वैशाखमा असन्तुष्ट रहेका खेलाडीले होटल छाडेका थिए । यहि विवाद समाधान गर्न खेलाडीले सोमबार खेलकुद मन्त्रीलाई भेटेका थिए ।  

प्रतिक्रिया दिनुहोस