काठमाडौं । स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिबारे छलफल थालेको छ । प्रारम्भिक मस्यौदा तयार पारेको मन्त्रालयले त्यसबारे छलफल थालेको हो ।
मन्त्रालयले रणनीतिका लागि ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ । जसमा स्वास्थ्य संघीय संरचना अनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जबाफदेही बनाउने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने र जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए । ‘पाँच वटा रणनीतिक उद्देश्य रहेका छन् । यसमा थपघट गर्न सकिन्छ । अहिले प्रारम्भिक चरणमै छ,’ उनले भने ।
सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ । त्यस्तै सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना मस्यौदा बनेको छ । सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने उनको भनाइ छ ।
अबको रणनीति विगतको भन्दा फरक खालको हुनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘विगतमा अलि फरक थियो । अहिले प्राथमिकता र आवश्यकता पनि परिवर्तन भइसकेका छन् । त्यसैले हामीले अबको रणनीति फरक बनाउनुपर्छ,’ डा. पौडेलले भने ।
मन्त्रालयले स्वास्थ्य रणनीतिबारे सुझाव सल्लाहका लागि सार्वजनिक रूपमा आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर आफ्नो सुझाव लेख्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । सरोकारवाला सबै निकाय तथा आम नागरिकबाट आएका सुझाव र सल्लाहका आधारमा स्वास्थ्य रणनीतिलाई अन्तिम रूप दिइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह