स्वतन्त्र उम्मेदवार धेरै भएका ४५ भन्दा बढी ठाउँका मतपत्र फेरि छापिने

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १५ : ३९
स्वतन्त्र उम्मेदवार धेरै भएका ४५ भन्दा बढी ठाउँका मतपत्र फेरि छापिने

काठमाडौं । निर्वाचन आयोगले ४५ भन्दा बढी स्थानीय तहको मतपत्र पुनः छपाइ गर्ने भएको छ। स्वतन्त्र उम्मेदवार बढी भएका पालिकाको मतपत्र पुनः छपाइ गर्ने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।

अहिले ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाका ४ नगरपालिकाको मतपत्र छपाइ भइरहेको छ। त्यहाँको मतपत्र छपाइ सकिएलगत्तै स्वतन्त्र उम्मेदवार बढी भएका पालिकाका लागि मतपत्र छापिने अर्यालले बताए। मतपत्र पुनः छपाइ गर्न परे पनि निर्वाचनका निर्धारित कुनै पनि कार्यक्रम हेरफेर नहुने आयोगले स्पष्ट पारेको छ।

आयोगले अहिलेसम्ममा ६५ जिल्लामा मतपत्र पठाइसकेको छ। सोमबार सिन्धुली, रामेछाप र दोलखालगायत जिल्लमामा मतपत्र पठाएपछि ६५ जिल्लामा मतपत्र पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि अब मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशका रसुवा, चितवन, ललितपुर, काठमाडौं र भुक्तपुरको मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ। 

६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख मतपत्र छपाइ सकिएको छ। हिजो (आइतबार)देखि भक्तपुर र ६ महानगरको पनि मतपत्र छपाइको काम सुरु भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस