कोरोना संक्रमण बढ्न सक्ने भन्दै शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १४ : ५५
कोरोना संक्रमण बढ्न सक्ने भन्दै शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे। उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए । सोमवार उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए। सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । उनले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताए । उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस