सक्रिय भयो प्रि मनसुन, अझै केही दिन वर्षा हुने

पत्रपत्रिकाबाट

आइतबार, १८ बैशाख २०७९, ०७ : ५०
सक्रिय भयो प्रि मनसुन, अझै केही दिन वर्षा हुने

काठमाडौं । लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र  प्रि  मनसुनी  वर्षा  भइरहेको  थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका  अनुसार  अझै  तीन  दिन  प्रि  मनसुन  सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको  समयमा  केही  स्थिर  रहेर  कतै–कतै  आकाश  खुल्नेछ  ।  तर,  बिहान  साँझ  देशका  धेरै  भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।”

उहाँका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो  ।भारतको  पश्चिम  बङ्गालदेखि  पूर्वी  भेग  हुँदै  उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण  हुँदै  पूर्वतर्फ  सोझिनेक्रममा  मौसम  प्रणालीले  यात्रा  गरिरहेको  अनुमान  मौसमविद्हरूले  गरेका  छन् ।

जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । अहिलेको  मौसम  प्रणालीअनुसार  नेपालको  प्रदेश  १,  बागमती,  गण्डकी,  कर्णाली  र  तराईका  अधिकांश भू–भागमा राम्रो बदली रहेको छ ।

शुक्रबार अपराह्नदेखि  शनिबार  बिहानसम्मको  अवस्था  विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको साताव्यापी कृषि मौसम पूर्वानुमान विवरणअनुसार भने आउँदो साताको अन्त्यसम्मै  देशका  विभिन्न  भू–भागमा  हल्कादेखि  मध्यम  वर्षाको  क्रम  रहनेछ  ।  गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस