लोसपाको नजरमा कांग्रेस - अनुदारवादी, कम्युनिस्ट र विकास विरोधी

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १६ : ३४
लोसपाको नजरमा कांग्रेस - अनुदारवादी, कम्युनिस्ट र विकास विरोधी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विभिन्न दलहरुलाई हेर्ने आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ । लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रुपमा चित्रण गरेको छ । 

देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिएको निस्कर्ष लोसपाको छ । 

‘जबजब मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायत वहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ,’ घोषणापत्रमा भनिएको छ । 

लोसपाले नेपालका कम्युनिस्ट पार्टीहरुलाई ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ भनेको छ । नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरुले आफ्नो औचित्य सावित गर्न नसकेको लोसपाले जनाएको छ । 

‘जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरु राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?,’ लोसपाले घोषणापत्रमा प्रश्न गरेको छ । 

नेपालका कम्युनिस्ट पार्टीहरु स्वरुपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र तथाकथित उपल्लो जातिहरुको राजनीति उद्यम गर्ने संगठन भएको निस्कर्ष लोसपाको छ । 

‘कम्युनिस्ट पार्टीहरु राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरु हुन्,’ लोसपाको घोषणापत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस