राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ : मन्त्री गहतराज

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १६ : ०३
राष्ट्रिय खेलकुद तोकिएको मितिमै हुन्छ : मन्त्री गहतराज

कास्की । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै आयोजना हुने बताएका छन् ।

प्रतियोगिताको तयारीलगायतका बारेमा मन्त्रालयले आज पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस वर्ष निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको उल्लेख गरे ।

मन्त्री गहतराजले समय कम भए पनि प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न सकिने अवस्था रहेकाले कुनै आशङ्का नराख्न आग्रह गर्दै भव्य तयारीमा जुट्न सरोकारवलालाई आग्रह गरेका थिए । “यही वर्ष र निर्धारित अवधिमा राष्ट्रिय खेलकुद सम्पन्न गर्न सक्छौँ, अब कहिले हुन्छ भन्ने अवस्था छैन, चाडपर्व, सङ्घ र प्रदेशको निर्वाचन, मौसमलगायतका कारणले पछि राष्ट्रिय खेलकुदलाई प्रभाव पार्ने भएकाले सरकार तोकिएको मितिमा प्रतियोगिता सम्पन्न गर्न लागेको छ” उनले दोहो-याए । 

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङ र पौडीका पूर्वाधार पोखरामा नरहेकाले अन्यत्र लैजानुपर्ने बाध्यता रहेपनि अन्य सबै खेलका पूर्वाधार तयार रहेको मन्त्री गहतराजले बताए । उनले प्रतियोगिताका लागि हरेक प्रदेशले आफ्नो टोली र विभागीय टोली सम्बन्धित विभागले तयार पार्नुपर्ने दायित्व भएकाले सोहीअनुसार गर्न आग्रह गरे । उनले भने “प्रदेशको टिम सोही प्रदेशले बनाउने हो, सोका लागि आवश्यक नीतिगत, आर्थिक र प्राविधिक जनशक्तिको सहयोग केन्द्र सरकारले उपलब्ध गराउँछ ।”

प्रतिक्रिया दिनुहोस