रोल्पामा भोट हालेर मात्रै महरा काठमाडौं फर्किने

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १२ : ३४
रोल्पामा भोट हालेर मात्रै महरा काठमाडौं फर्किने

काठमाडौं ।नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको चुनाव प्रचार–प्रसार गर्नका लागि भन्दै काठमाडौं छोडेका छन् । गत मंगलबार काठमाडौं छोडेका महरा वैशाख ३० गतेको भोट हालेर मात्रै काठमाडौं फर्किने भएका हुन्  

दाङको चुनावी माहोल बनाउन महरासहित काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले संयूक्त पत्रकार सम्मेलन गरेका छन् । गठबन्धनमा सहभागी उम्मेदवारलाई भोट हाल्न महरा र गिरीले अपिल गरेका छन् । यस्तै प्रवक्ता महरा केहीदिन दाङका स्थानीय तहमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिकाका चुनावी सभामा महरा सहभागी हुने प्रचार प्रसारण विभाग सचिव गोविन्द आचार्यले बताए । 

‘महरा सर दाङका घोराही र तुलसीपुर उपमहानगरका चुनावी सभासहित लमही र सात गाउँपालिकाका चुनावी सभामा सहभागी हुनुहुने छ । त्यसपछि विशेषगरी दाङको आफ्नो निर्वाचन क्षेत्र २ लाई बढी फोकस गरेर खटिनु हुनेछ’ आचार्यले भने, ‘त्यसपछि रोल्पा नगरपालिकासहित आवश्यक स्थानीय तहका चुनावी सभामा भाग लिने कार्यक्रम छ ।’रोल्पामा माओवादीले एकल रुपमा प्रतिस्पर्धा गरेकाले निर्वाचन  माहोल बनाउन महराले चुनावी सभालाई पनि सम्बोधन गर्ने भएका छन् । अन्तमा वैशाख ३० गतेको स्थानीय चुनावमा रोल्पा नगरपालिकामा भोट हालेर मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको आचार्यले बताए ।

स्थानीय चुनाव नजिकिएसँगै माओवादी शीर्ष नेताहरुले काठमाडौं छोडेका छन् । स्थानीय निर्वाचनमा आफ्नो पक्षमा पार्न माओवादी नेताहरु गाउँ–गाउँ छिरेका हुन् । माओवादीले स्थानीय तहको आवश्यकतालाई हेरेर एक स्थानीय तहमा एक केन्द्रीय सदस्य खटाएको छ ।

प्रतिक्रिया दिनुहोस