एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

रासस

विहीबार, १५ बैशाख २०७९, १० : ३६
एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् ।  बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् । 

उपप्रमुखमा मनोनयन दर्ता गराएकी अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले) बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

कांग्रेसबाट उम्मेदवार बनेकी  अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य छिन् । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनले कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम समेत गरेकी छिन् । 

एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको  जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष छिन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छिन् । 

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य छिन् ।  उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन् ।  विसं २०६० देखि  राजनीतिमा सक्रिय उनी  हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छिन् । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित हुनुभएको भएकी थिईन् । 

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज छिन् ।  विसं २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिईन् । 

प्रतिक्रिया दिनुहोस