चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?

"कुनै दलसँग पनि प्रधानमन्त्री कार्कीले महिना दिन पुग्न लाग्दा समेत सम्वाद गर्न चाहेकी छैनन्"

सफल खबर संवाददाता

सोमबार, २० असोज २०८२, ०९ : ५९
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी अन्तरिम सरकार गठन भएको २५ दिन भयो । जेन जी पुस्ताको आन्दोलनपछि भदौं २७ मा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले भदौं २८ मा सपथ लिए । लगत्तै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनमा चुनाव गराउने गरि मन्त्रीपरिषद्को सिफारिस कार्यान्वयन गरिदिए ।

सुशीला कार्की नेतृत्वको यो अन्तरिम सरकारको मुख्य काम नै चुनाव गराउने हो । त्यसका लागि उनी नेतृत्वको सरकारले राजनीतिक दलहरुलाई पनि चुनावमा जाने वातावरण निर्माणका लागि विश्वासको वातावरण तयार पार्नुपर्ने हुन्छ । अन्यथा विगतमा तत्कालिन राजा ज्ञानेन्द्रले स्थानीय तहको चुनाव गराएको जस्तो चुनावको मिति तोकिने, तर राजनीतिक दलहरुको सहभागिता नहुने अविश्वसनिय चुनाव हुने सम्भाबना रहन्छ ।

प्रधानमन्त्री कार्की अघिल्ला सरकार, राजनीतिक दलका नेताहरुसँग पूर्वाग्रही भएर प्रस्तुत हुन थालेकी छिन् । यसले निर्धारित मितिमा सरकार चुनाव गराउन लाग्न खोजेको त छ ? भन्ने प्रश्न उब्जाएको विश्लेषकहरु बताउन थालेका छन् ।

प्रधानमन्त्रीले चुनावका लागि राजनीतिक दलहरुसँग सम्वाद गर्ने र चुनावी वतावरण गर्ने पहिलो काम गर्नुपर्ने हुनछ । तर कार्कीले अहिलेसम्म कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका प्रमुख राजनीतिक दलहरुसँग अहिलेसम्म एकपटक पनि छलफल गरेकी छैनन ।

जेन जी आन्दोलनको अगुवा दावी गर्ने सुदन गुरुङले उल्टै कांग्रेस, एमाले जस्ता दलका नेता चुनाव जिते आफुहरुले नमान्ने धम्कीयुक्त अन्तवार्ता विदेशी सञ्चारमाध्यममा दिँदै आएका छन् । उनी सरकारका जुनकुनै बैठकमा अघोषित रुपमा अवैधानिक रुपमा हावी हुन थालिरहेका छन् ।

यसले आवाधिक निर्वाचन प्रणाली, लोकतन्त्र, गणतन्त्रका लागि पनि खतराको संकेत दिईरहेको छ । चुनाव गराउन आएका सरकार प्रमुखले जस्तो सुकै भएपनि पार्टीहरुसँग सम्वाद गर्नुपर्ने हो । तर उनले अहिलेसम्म त्यसतर्फ अग्रसरता लिएकी छैनन । बरु आफनो सम्वोधनमा मात्र उनले आह्रवान गरेकी छिन् ।

दशैं तिहार, छठ जस्ता चाडपर्वका कारण एकातिर चुनावको तयारी र चुनाव हुने समयका कारण आशंकाको घेरामा परिरहेको बेला, अर्काेतिर चुनाव गराउन आएको सरकारले अहिलेसम्म राजनीतिक दलका नेताहरुसँग सम्वाद नै नथाल्नुले झन् आशंका जन्माईदिएको छ ।

कांग्रेसका एक नेताले सफलखबरसँग भने, ‘चुनाव  गराउन आएको चुनावी सरकारले दलका प्रतिनिधिहरुसँग सम्वाद गर्ने र वातावरण निर्माण गर्नुपर्ने हो, तर अहिलेसम्म सम्वाद नै प्रधानमन्त्रीले गर्न चाहिरहेकी छनै । यसले आशंका उत्पन्न गराएको छ ।’

माओवादीका नेता नारायणकाजी श्रेष्ठले त प्रधानमन्त्रीलाई बधाई दिन खोज्दा सम्पर्क समेत हुन नसकेको सार्वजनिक रुपमै सामाजिक सञ्जालमै लेखेका थिए । एमालेका नेताहरु पनि प्रधानमन्त्रीले अहिलेसम्म सम्वादमै बोलाउन नखोज्दा चुनाव त गराउँछन् ? भन्ने आंशका उब्जिएको बताउन थालेका छन् ।

जेन जी पुस्ताको आन्दोलनपछि सबैभन्दा बढी एमाले र कांग्रेस पछारिएका छन् । कतिपय एमाले कांग्रेसका नेताहरु सामाजिक रुपमा उठ्न समेत नसक्ने गरी आन्दोलनपछि बदनाम भएका छन् । उनीहरुले चुनावी वातावरण निर्माणका लागि उठन पनि समय लाग्ने देखिन्छ । त्यसमाथी प्रधानमन्त्री कार्कीले महिना दिनसम्म दलका नेताहरुलाई भेट्नै नचाहनु, भेटन नबोलाउनुले दलहरु अचम्मित छन् ।

‘चुनाव गराउन आएको प्रधानमन्त्रीले चुनावमा भाग लिने राजनीतिक दलहरुसँग निरन्तर सम्वाद गर्नुपर्ने हो,तर अहिलेसम्म हामीलाई छलफलमा बोलाउन चाहिरहनु भएको छैन, यसरी उहाँले कसरी चुनाव गराउने सोच्नु भएको छ, हामीलाई अचम्मित बनाएको छ,’ एमाले एक पदाधिकारीले भने ।

कांग्रेस, एमाले, माओवादी केन्द्र मात्र होइन्, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य दलहरुसँग पनि अहिलेसम्म संवाद गरेकी छैनन । उनले अहिलेसम्म जेन जी पुस्ताको केही ब्यक्तिहरुसँग बाहेक अन्यत्रसँग खास छलफल पनि गरेकी छैनन । आफनो क्याबिनेट समेत प्रधानमन्त्री कार्कीले पूर्णता दिन सकिरहेकी छैन ।

यतिसम्मकी प्रधानमन्त्री कार्कीले अघिल्लो सरकारका प्रधानमन्त्रीले प्रयोग गरेका सामाजिक सन्जलसमेत प्रयोग नगर्ने नीति लिएकी छिन् । आइतबार मात्रै उनको नयाँ  अकाउन्ट सार्वजनिक भएको छ । अघिल्लो सरकारले प्रयोग गरेको सामाजिक सन्जाल अकाउन्ट प्रयोग नगर्ने कार्कीले बताएपछि नयाँ अकाउन्ट खोल्नु परेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतको भनाई छ ।

यतिसम्मकी प्रधानमन्त्री कार्की अघिल्ला सरकार, राजनीतिक दलका नेताहरुसँग पूर्वाग्रही भएर प्रस्तुत हुन थालेकी छिन् । यसले निर्धारित मितिमा सरकार चुनाव गराउन लाग्न खोजेको त छ ? भन्ने प्रश्न उब्जाएको विश्लेषकहरु बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस