पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, ०७ : ४५
पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।  

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन्। सत्तारुढ ५ दलीय गठबन्धनको भागबन्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो। मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले छिटपुट रूपमा उम्मेदवारी दर्ता गराएको छ।

उम्मेदवारको संख्या धेरै हुने र एकैदिन बढी भीडभाड हुने भएकाले निर्वाचन आयोगले मनोनयनका लागि दुई दिनको समय तोकेको छ। निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार र सोमबार उम्मेदवार मनोनयन दर्ताको समय तोकेको हो। सोमबार ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुईजना खुला पदका लागि उम्मेदवारी दर्ता हुँदैछ।

काठमाडौं, भक्तपुरका ४ नगरपालिका र ६ वटा महानगरपालिकाका लागि सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ। आयोगले समय अभावका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसकिने स्पष्टीकरण दिएको छ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छापिने विषयमा प्रश्न उठाएको थियो। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसक्नुमा समय अभावसहितका कारण पेस गरेको छ। यस वर्षको स्थानीय चुनावका लागि निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र डिजाइन गरेको छ। ७७ जिल्लाका लागि छुट्टाछुट्टै ७७ किसिमकै मतपत्र हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस