वाग्मतीको सिनामङ्गल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १६ : ४७
वाग्मतीको सिनामङ्गल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

काठमाडौँ । सिनामंगल क्षेत्रको बागमती किनारमा सफाइ गरी ६ मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ महा अभियानको ४६७ औँ तथा तिलगंगा महिला समूहको ३६७औँ हप्ताको सफाइका क्रममा त्यस क्षेत्रमा सफाइ गरी ६ मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, सिभिल क्यापिटल मार्केट प्रालि, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, बानेश्वर महिला वातावरण व्यवस्थापन प्रालि, आलोकनगर सरसफाइ टोल सुधार समिति एवं वाग्मती अभियानकर्मी र स्थानीयवासीको सक्रियता थियो । 

सो अवसरमा पृथ्वी दिवसका अवसरमा सिनामंगल वाग्मती पुल नजिकै वृक्षरोपण गरेको छ । कपुर र तेजपत्ताका बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा.माला खरेलले जानकारी दिइन् । नदी किनारमा धेरै फोहोर जम्मा भएको पनि उनले सुनाइन् । नदी किनारमा जम्मा भएको फोहर नदीमै मिसिने भएकाले सफाइ गर्नु र नगर्नुको अर्थ नभए पनि जनता जागरणका लागि अभियानलाई निरन्तरता दिइएको हो ।

वि.सं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । त्यस्तै आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । 

ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक शहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।
 
यसैगरी पर्यटकीय शहर पोखरामा समेत लामो समयदेखि फोहर नउठ्दा पनि स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस