बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १० बैशाख २०७९, १२ : ३७
बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो । छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ ।

पर्वत प्रहरीका अनुसार छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारका लागि बेनी अस्पताल म्याग्दी लगेकाे आफन्तले बताएपछि प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो ।

घटनाको बारेमा सूचना पाएलगत्तै प्रहरी चौकी वारी बेनीका प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई शुक्रबार करणीसम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्ननहुने शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस