अक्सिजन भर्दा उद्योगमा कसरी भयो विस्फोट ?

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ बैशाख २०७९, ०८ : ०८
अक्सिजन भर्दा उद्योगमा कसरी भयो विस्फोट ?

काठमाडौं । बिहानको १० बज्न लागेको थियो। राजुबाबु ताम्राकारले फ्याक्ट्रीको ताला मात्रै के खोल्न खोजेका थिए, बम पड्किएजस्तै आवाज आयो। ‘थरर घरै हल्लियो,’ ताम्राकारले भने, ‘ऐया  भन्दै कोही कराउँदै थिए। यताउता अक्सिजन सिलिन्डरका टुक्रा छरिए।’

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्रालिमा बिहीबार विस्फोट भयो। दुई जनाको ज्यान नै गयो। सोही क्षेत्रमा इलेक्ट्रिक बक्सको फ्याक्टी चलाउँदै आएका ताम्राकारले सोच्दै नसोचेको घटना देखे। भन्छन्, ‘मेरो फ्याक्टी रहेको घरको झ्याल ढोका पनि फुटेको छ। ‘टप’ को एक साइडको वाल नै झरेको छ। यस्तो दुर्घटना होला भन्ने कल्पनै थिएन।’

विस्फोटमा घटनास्थलमा नै दुई कामदारको मृत्यु भएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहले बता। ६ जना घाइते छन्। उनका अनुसार मृत्यु हुने दुवै जना भारतीय नागरिक हुन्। जसमा भारतको पश्चिम चम्पारम, रतनपुरका बृजमोहन महतो र राजकुमार महतो छन्। कम्पनीमा कार्यरत सुदीप तिमल्सेना, रमेश अधिकारी, दुर्गा पुरी, अञ्जना पौडेल, गंगाराज शर्मा र ईश्वर बजगाईं घाइते भएका छन्। उनीहरू उपचारपछि घर फर्किएका छन्। 

कसरी भयो विस्फोट ?
ललितपुर प्रहरी परिसरका प्रवक्ता शाहका अनुसार अक्सिजन प्लान्ट उद्योगमै दुर्घटना भएको यो नौलो घटना हो। करिब डेढ रोपनी क्षेत्रफलमा रहेको उक्त अक्सिजन प्लान्ट उद्योग विस्फोटबाट पूर्णरूपमा क्षतिग्रस्त छ। वरपरका घरमा पनि क्षति पुगेको छ। कुनै–कुनै घरको भित्ता चर्किएको छ त। कुनैको झ्याल ढोका र सिसा फुटेका छन्। स्थानीयले ‘लापरवाहीका’ कारण विस्फोट भएको दाबी गरेका छन्।

अक्सिजन ‘रिफिल’ गर्ने क्रममा ग्यासको प्रेसर अत्यन्तै बढी हुन्छ। त्यही कारण दुर्घटनामा परेका कामदारका शरीरका अंग पनि यत्रतत्र भेटिएको। प्रवक्ता शाहले बताए। विस्फोटको समयमा कारखानामा १० जना कामदार थिए। ग्यास भर्दा विस्फोट भएको अनुमान प्रहरीको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस