राजनीतिक दलको विकल्पमा राप्रपा : अध्यक्ष लिङ्देन

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १७ : ५०
राजनीतिक दलको विकल्पमा राप्रपा : अध्यक्ष लिङ्देन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा जनताको भविष्यको पार्टी भएको बताएका छन् । राप्रपाले बुटवलमा बिहीबार आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा प्रतिबद्ध रहेको बताएका हुन् ।

‘देशभन्दा ठूलो र माथि कोही नभएकाले देश बचाउन कांग्रेस, एमाले र माओवादीका विरुद्ध राप्रपालाई मत दिने समय आयो’, उनले भने, ‘गएको चुनावमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गति भोग्नुपरेको छ । नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रस्ट पारेको छ ।’

कांग्रेस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याई भत्ता खाएर देश चलाएको आरोप लगाउँदै लिङ्देनले भने, ‘राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो । हुँदा खाँदाको राजतन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासँग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको छ । कांग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ । नेपाली जनताले बुझेका छन् । नबुझेकालाई हामी बुझाउने छौं ।’

संघीयताले देशको ऋण र कर बढेको बताउँदै उनले कर तिरेर पनि जनताले केही नपाएको औंल्याए । राष्ट्रघातीहरुलाई हराउन बाउबाजेको पार्टी राप्रपालाई भोट दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस