ऐतिहासिक दिनकाे सम्झना गरी जितगढीमा मनाइयाे विजय दिवस

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १३ : २५
ऐतिहासिक दिनकाे सम्झना गरी जितगढीमा मनाइयाे विजय दिवस

काठमाडौं । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ।बुटवल उपमहानगरपालिका-१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो।

विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो।विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको सालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रूपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए।

‘हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रूपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ’, उनले भने।शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्त्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवर्द्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्नेमा जाेड दिए।

नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रूपमा मनाउन सुरु गरेको हो।किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरुयोजना बनाएको छ। गुरुयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।

उपमहानगरपालिकाले यसको गुरुयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन्।

जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ। किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रिकालीन बजार, कोसेली पसल, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए।

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको सालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजनाअनुरूपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए।

गुरुयोजनाअनुसार दुई बिघा दुई कट्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जितगढी बटौली युद्ध सङ्ग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ।नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरु भएकै बेलामा अङ्ग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो। विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अङ्ग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन।

सन् १८०४ मा अङ्ग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अङ्ग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए।

त्यसैकारण नेपाल र अङ्ग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो। सुरुका युद्धमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालीन अङ्ग्रेजलाई पराजित गर्‍याे।अमरसिंह थापाका नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अङ्ग्रेजसँग निर्णायक युद्ध लडेको थियो। कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अङ्ग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ।

उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ।‘यो अत्यन्तै महत्त्वको स्थल हो, यसको संरक्षण र व्यवस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौँ’, नेपाली सेनाको गरुडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने।

 

प्रतिक्रिया दिनुहोस